विश्व दूध दिवस २०२५ : दूध उत्पादन, महत्त्व र अवसर

सिन्धुली प्रेस
  • ख-
  • ख+


बलराम अधिकारी

सिन्धुली जेष्ठ १८ गते आईतबार । दूध यस्तो पदार्थ हो जसमा ल्याक्टोज भन्ने पदार्थ अरु विश्वको कुनै पनि तरल पदार्थमा पाइँदैन । त्यसकारण दुधलाई अमृत पनि भनिन्छ। दुधबाट प्राप्त गरिने फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, खनिज पदार्थ, भिटामिन आदिले हाम्रो शरीरमा आवश्यक पर्ने पौष्टिक तत्वहरुलाई पूर्ति गरी शरीरलाई तन्दुरुस्त र बलियो बनाउने काम गर्दछ । नियमित दूध सेवनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, जसले हामीलाई विभिन्न रोगबाट जोगाउँछ र स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्दछ । यसैले, दूधलाई दैनिक आहारमा अनिवार्य रूपमा समावेश गर्नु हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ ।


विशेष गरी बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा दूधको भूमिका अतुलनीय छ । हड्डीको मजबुती, मांसपेशीको विकास, र मस्तिष्कको स्वस्थ विकासका लागि दूध अत्यन्त आवश्यक छ ।
दूधबाट दूध, दही, मोही, खुवा, आइसक्रिम, पनिर, मखन , घिउ, छुर्पी, चिज, पेडा, रसवरी, पुष्टकारी लगायत दूधसँग विभिन्न परिकारहरु बनेका हुन्छन । दुधलाई विश्व बजारमा विविधिकरण गरेर विभिन्न दुग्धजन्य पदार्थहरू बजारमा पाइन्छन ।
केही समय यता किसानहरूले डेरी मार्फत किसानहरूले सहकारी मार्फत बिक्री वितरण गरिएका दूधको भुक्तानी समयमा नै नपाएको हुँदा एकातिर किसानहरु पलायन हुने चटारो देखिन्छ भने अर्कोतिर दुग्ध व्यवसाय बिस्तारै समस्यामा पर्दै गएको छ यसको बारेमा संघीय सरकार लागि परेता पनि किसानहरूको समस्या समाधान गर्न नसक्दा आगामी दिनहरुमा उत्पादन घट्नुको साथै दुग्ध उत्पादन गर्ने क्षेत्रहरू घट्दै जाने देखिन्छ जसले गर्दा किसानहरु पलाइन भई कुल ग्रास्त उत्पादनमा विदेशबाट दूध आयात गर्नुपर्ने हुँदा व्यापार घाटा बढ्ने पनि देखिन्छ । तथापि निरासाको बावजुत सरकारले दुग्ध क्षेत्रमा सकरात्मक प्रयास भने गरेको अवस्था छ । हरेक पालिकाहरूले घाँस उत्पादन, डेरीका यन्त्र उपकरण खरिद, गोठ सुधार लगायत दुग्ध क्षेत्र रुपान्तरण, स्तरोन्नती, बृद्धि गर्नको लागि वार्षिक रुपमा बजेट विनियोजन गरी किसानहरुलाई दुग्ध विकासमा लाग्नको लागि प्रेरित गरेको पनि पाइन्छ ।

नेपालमा दुग्ध उत्पादनको लागि रैथाने गाईवस्तु मात्र नभई विभिन्न जातका गाई तथा भैंसीहरु छिमेकी मुलुकहरु र अन्य मुलुकहरुबाट आएको पनि पाइन्छ । जसले गर्दा उन्नत नस्लका पशुहरू भित्रिनुको साथै देशबाट धेरै मोटा रकमहरू विदेशतर्फ निर्यात भएको पनि देखिन्छ । नेपालमा पशु विकासको लागि थुप्रै प्रयासहरु भए तापनि उन्नत नस्लका दुग्ध दिने पशुहरूको स्रोत केन्द्र पर्याप्त मात्रामा रहेको पाइँदैन । यसबाट नेपालको आर्थिक अर्थतन्त्रमा ठूलो नोक्सानी बेहोरिरहेको पाइन्छ। छिमेकी राष्ट्र भारतबाट चोरी पैठारीको रूपमा उन्नत नस्लका गाईभैंसी भित्राइएका छन जसले गर्दा नेपालको हावापानीमा ती गाईवस्तुहरुलाई व्यवस्थापन गर्न निकै ठूलो चुनौती परेको छ भने नेपाली रुपैयाँ विदेशमा पठाउनुपर्ने बाध्यता पनि छ ।


नेपालमा विक्रम सम्वत १९१७ सालमा युरोपियन गाईहरूको आयातबाट दुग्ध क्षेत्रको विकास भएको पाइन्छ । त्यसैगरी हालसम्म भारत तथा अन्य मुलुकहरुबाट वार्षिक रुपमा २ अर्ब भन्दा बढीको दुध तथा दूधजन्य पदार्थहरू आयात भएको पाइन्छ । यस अर्थमा हामी बुझ्न सकिन्छ कि नेपालमा दुग्ध क्षेत्रको व्यवसाय असाध्यै राम्रो र सफल रहनेछ त्यसको लागि संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहहरूको भूमिका महत्वपूर्ण हुने पनि देखिन्छ एकजना स्वस्थ व्यक्तिको लागि वार्षिक रुपमा ९० लिटर दूधको आवश्यकता पर्दछ सोको पूर्ति उत्पादन भएको दूधले पुगेको देखिँदैन। गत वर्षको तुलनामा यस वर्ष २२ लाख ६८ हजार मेट्रिक टन दूध उत्पादन भएको छ यो तथ्याङ्क गत वर्षको तुलनामा करिब करिब ४५ले थप भएको पाइन्छ ।
कुल गृर्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ भने ६ लाख कृषक परिवार आबद्ध छन्, जसमा ४० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा रोजगारी पाएका छन् । हाल दुध क्षेत्रबाट दैनिक ६ करोडभन्दा बढी रकम सहरबाट गाउँमा प्रवाह भइरहेको छ । दुध क्षेत्रमा ४५ अर्बभन्दा बढी लगानी निजी डेरी उद्योगको मात्रै रहेको तथ्यांक छ । उत्पादन भएको दुधमध्ये करिब ५० प्रतिशत ९३१ लाख लिटर० बजारमा आउँछ भने बाँकी किसान आफैँले प्रयोग गर्ने गरेका छन ।


बजारमा आएकोमध्ये पनि १५ प्रतिशत औपचारिक क्षेत्रमा लेबलिङ–प्याकेजिङ भई पुग्ने गरेको छ । ३५ प्रतिशत खुला रूपमा बजार बिक्री हुने गरेको छ । दुग्ध क्षेत्रले ग्रामीण र सहरबीच आर्थिक कारोबार गराउने पुलका रूपमा रही सहरबाट वार्षिक करिब २५ अर्ब ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ । अहिले करिब ४२ लाख घरपरिवारले गाई–भैँसीपालन गर्दै आइरहेका छन ।
नेपालमा विशेष गरी स्थानीय भैंसीबाट सरदर दैनिक ८ लिटर दुध उत्पादन हुन्छ भने स्थानीय गाईहरूबाट १० लिटर दुध उत्पादन हुन्छ। त्यसो त विभिन्न देशहरूबाट आयात गरिएका गाई र आयात गरिएका उन्नत नष्ट नसलका गाईहरूबाट दैनिक १४ लिटर दूध उत्पादन हुँदै आएको छ । मुख्य आहाराको रुपमा घाँसलाई प्रयोग गरिएता पनि विभिन्न खालका कोशे तथा अकोशे घाँसहरू को बारेमा चेतना नहुँदा दूध उत्पादन लागत बढेको पनि पाइन्छ । सहर बजारतिर त पराल र दानामा आधारित गाईवस्तु पालेको पनि पाइन्छ। जसले गर्दा उत्पादन लागत बढी पर्न गई मुनाफा समेत कम हुने गर्दछ । त्यसकारण सकेसम्म दुध दिने वस्तुहरु को लागि हरियो घाँस मा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्न सकिन्छ ।


नेपालमा दुग्ध व्यवसायको विकास नहुनुमा अर्को एउटा पक्ष भनेको कृषि पेशालाई सम्मानित र भरपर्दो पेशाको रुपमा सरकार र समुदायले लिन नसक्नु हो । नेपालमा दुग्ध क्षेत्रको विकास गर्नको लागि एउटा राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवनमा छ भने अन्य प्रदेश स्तरका दुग्ध विकास बोर्डहरु सातै प्रदेशमा रहेका छन्। यी बोर्डहरुले दुग्ध उत्पादक किसानहरुका समस्याहरुलाई समाधान गर्नको लागि र केही हदसम्म राहत प्रदान गर्नको लागि अनुदानका कार्यक्रमहरू लिएर किसान समक्ष पुगेको पनि पाइन्छ। स्थानीय स्तरमा हरेक पालिकामा पशु शाखा स्थापना गरी सेवा दिँदै आएको पाइन्छ भने प्रायजसो सबै जिल्लामा जिल्ला पशु सेवा कार्यालयको पनि स्थापना गरी पशुहरूको र दुग्ध क्षेत्रको विकास गरेको पाइन्छ ।

सन्दर्भ : विश्व दूध दिवस : दिवसले हामी सबैलाई दूधको महत्व बुझ्न र यसको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गर्दछ। दूध हाम्रो स्वास्थ्य र समृद्धिको आधार हो। त्यसैले यसको संरक्षण र प्रवद्र्धनमा सबैले योगदान दिनुपर्छ। हामीले दूधलाई मात्र खानामा समावेश गर्नु हुँदैन, यसलाई उत्पादन गर्ने किसानहरूको सम्मान र सहयोग पनि गर्नुपर्छ। उनीहरूको कडा मेहनत र समर्पणले हामीलाई पोषणयुक्त दूध उपलब्ध गराउँछ।

अन्त्यमा, म सबैलाई हार्दिक अनुरोध गर्दछु कि दूधलाई आफ्नो दैनिक आहारमा अनिवार्य रूपमा समावेश गरौं र दूध उत्पादनमा संलग्न किसानहरूलाई सहयोग गरौं। स्वस्थ शरीर, स्वस्थ मस्तिष्क र स्वस्थ समाज निर्माणका लागि दूधको भूमिका अतुलनीय छ। विश्व दूध दिवसको अवसरमा हामी सबै मिलेर दूधको महत्त्व स्वीकार्दै स्वस्थ सशक्त र समृद्ध भविष्य निर्माण गरौं।
आज दूधको खपत बढाओैं, अर्थतन्त्रलाई सबल बनाओैं भन्ने नाराका साथ विश्वमा २५ औं विश्व दूध दिवस तथा नेपालमा १५औं विश्व दूध दिवसको अवसरमा कृषक, सहकारी, डेरी व्यवसायी लगायत सरोकारवाला सम्पुर्णमा हार्दिक शुभकामना । धन्यवाद ।

अधिकारी कमलामाई नगरपालिका वडा नं ६ स्थित सिन्धुली डेरी उद्योग प्रा।लि।का संचालक तथा नेपाल डेरी एसोसियशन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्