सिन्धुली, २५ मंसिर । सिन्धुलीको सुनकोशी गाउँपालिकामा आज भएको गायन प्रतियोगितामा नवज्योती समुहका महिलाहरु प्रथम भएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गाउँपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा तथा सामाजिक कु.प्रथा अन्त्य सम्बन्धी सचेतामुलक गायन प्रतियोगितामा २ नम्बर वडाको नवज्योती समुहका महिला दिदी बहिनीहरुले प्रथम भएका हुन् ।
प्रतियोगितामा प्रथम भएका नवज्योती समुहका महिलाहरुले नगद १० हजार पुरस्कार जितेका छन । प्रतियोगितामा जनकल्याण समुहका महिलाहरु द्धितीय हुदै नगद ८ हजार रुपौयाँ पुरस्कार पाएका छन् ।
सुमित्रा दर्लामीले तेस्रो हुदै नगद ६ हजार रुपैयाँ र प्रतिभा समुहका महिलाहरुले सानत्वना स्थान जित्दै नगद ४ हजार रुपैयाँ पुरस्कार जितेका सुनकोशी गाउँपालिकाले जनाएको छ ।
हरेक बर्षको २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाइने अभियानको अवसरमा गाउँपालिकाले लैङ्गिक हिंसा तथा सामाजिक कु.प्रथा अन्त्य सम्बन्धी सचेतना फैलाउन गाउँपालिकाले सात वटै वडामा गायत प्रतियोगिता आयोजना गरेको थियो ।
वडामा प्रथम र द्धितीय स्थान जितेका प्रतिस्पर्धाहरुले पालिका स्तरको गायन प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । सात वटै वडामा भएको गायन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सानत्वना स्थान जितेका महिला समुहहरुलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार दिईएको गाउ्रँपालिकाले जनाएको छ ।
विजेता महिलाहरुलाई पुरस्कार वितरण गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले गित संगिताको माध्यमबाट सहजै लैङ्गिक हिंसा तथा सामाजिक कु.प्रथा अन्त्य गर्न समाजमा सन्देश दिन सकिने भएकाले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले महिलाहरुमा रहेको प्रतिभाको पनि प्रस्फुटन भएको अध्यक्ष दाहालको भनाई छ ।
प्रतियोगितामा उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितिक दलका नेताहरु, स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।