राँगाको मासु र चिउरा खान्देर तीनपाटनमा बालमैत्री वडा घोषणा

सिन्धुली प्रेस
  • ख-
  • ख+

बुद्ध नेपाली
सिन्धुली, २९ भदौं । खोला किनार छेउको हरियाली चौर, चौरको एउटा कुनामा ठुलो कराई बसाल्न मिल्ने ढुंगाको जोडजाम गरेर बनाईएको दुई वटा चुलो, त्यस चुलोको २०÷२५ मिटर पर १५÷२० जना बस्न मिल्ने टेन्ट स्टेज, ठुलो साउण्ड सिस्टम ।

शुक्रवार विहान सबेरै तीनपाटन गाउँपालिका ५ नम्बर वडाको मझुवा दोभान स्थित चदा खोला किनारको चौरमा देखिएको दृष्य हो यो ।

विहान करिब ११ बजेको थियो । स्टेजमा साउण्ड सिस्टम मिलाउने जिम्मेवारी पाएका प्राविधिकहरु त्यसको व्यवस्थापन गर्दै थिए ।

छेउमै बनाएको चुलोमा दुई वटा ठुलो कराई बसालीएको थियो । त्यहाँ रहेका झन्डै आधा दर्जन पुरुषहरुले दुई वटा कराईमा अटाई नअटाई राँगाको मासु भुट्दै थिए ।

यो दृष्य देख्दा लाग्थ्यो कि त्यहाँ ठुलै विवाह वा अरु कुनै भोजभतेरको कार्यक्रम हुदैछ । तर त्यहाँ त्यस्तो अरु कुनै कार्यक्रम नभई तीनपाटन गाउँपालिकाको ५ नम्बर वडालाई बालमैत्री स्थानिय शासन घोषणा गर्न तामझाम सहित आयोजना गरिएको कार्यक्रम थियो । मासु भुट्दै गरेका एक जनाले भने, झन्डै एक हजार जनालाई पुग्ने गरी एउटा राँगा काटेर पकाउदैछौं ।

केही छिनपछि सिन्धुलीमाढीबाट गएका कार्यक्रममा निमन्त्रणा गरिएका प्रमुख अतिथी र अतिथीहरुको लर्को स्टेज तिर लम्कियो । कार्यक्रमका प्रमुख अतिथि थिए सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाली काग्रेसका नेता श्याम कुमार घिमिरे ।

उनको साथमा बागमती प्रदेशसभा सदस्य मातृका भट्टराई, एमाले सिन्धुलीका नेता प्रदिप कटुवाल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगर, उपाध्यक्ष अशोक पुलामी लगाएत अन्य जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरु कार्यक्रम स्थलमा पुगे । त्यहाँ पुग्ने वित्तिकै उनीहरुलाई चुनाव जितेर विजय उत्सव मनाएकै झल्को दिने गरी पन्चेबाजा र मालाले भव्य स्वागत गरियो ।

सोही कार्यक्रममा सहभागी हुन कार्यक्रम स्थल पुगेका तीनपाटन गाउँपालिकाको एक जना वडा अध्यक्षका अनुसार ५ नम्बर वडालाई बालमैत्री स्थानिय शासन घोषणा गर्ने कार्यक्रमको लागि मात्रै गाउँपालिकाले तीन लाख बजेट नै छुट्याएको छ । सोही बजेटले आज तामझाम सहित घोषणा कार्यक्रम भएको हो ।

बाल दिवसको अवसर पारेर गरिएको कार्यक्रममा बोल्ने अधिकाश वक्ताले कार्यक्रममा सहभागी बालबालिकाले बुझ्न नै नसक्ने राजनितिक कुरा बाहेक बालबालिकाको पक्षमा त्यस्तो कुनै शब्द्ध उच्चारण गरेको सुनिएन ।

बालबालिकालाई दिनभरको टन्टलापुर घाममा राखेर राजनितिक दलका र नेताका आरोप–प्रत्यारोप सुनाईयो । कार्यक्रम सकिएपछि विहान पकाएको राँगाको मासु र चिउरा खुवाएर घरघर पठाईयो । कार्यक्रममा सहभागी बालबालिकाका अभिभावकले पनि राँगोका मासु र चिउरा खाएर घर फर्किए । आजको कार्यक्रमबाट न बालबालिकाहरुले कार्यक्रमको उदेश्य बझे, न अभिभावकहरुले ।

वल्र्ड भिजन ईन्टरनेशनल, सिड्स नेपाल, रिलिफ नेपाल सिन्धुलीसँगको साझेदारीमा तीनपाटन गाउँपालिकाले वडालाई बालमैत्री स्थानिय शासन घोषणा गर्ने कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत वडा नम्बर १० लाई यस अघि नै बालमैत्री स्थानिय शासन घोषणा गरी सकिएको छ ।

बालमैत्री स्थानिय शासन घोषणा गर्न विभिन्न ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ । तर तीनपाटन गाउँपालिकामा यो ५१ वटा सूचकहरु पुरा नगरी बालमैत्री स्थानिय शासन घोषणा गरिएको देखिएको छ ।

स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्ज‘मा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिको छ ।

यस निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाह सम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।

तर आज घोषणा गरिएको ५ नम्बर वडाकै ठुलो माध्यमिक विद्यालय मझुवा दोभानमा बालमैत्री धारा नै नभएको पाईएको छ । धारामा नियमित खानेपानी समेत उपलब्ध नहुने विद्यार्थीहरुले गुनासो गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक रघुनाथ बास्तोलाका अनुसार पानीको मुहान नभएर खोलाको पानी मोटरबाट तान्नुपर्ने भएकाले नियमित पानी उपलब्ध गराउन नसकिएको हो ।

विद्यालय निर्माणको चरणमा रहेकाले विस्तारै बालमैत्री धारा र शौचालय निर्माण हुने प्रधानाध्यापक बास्तोलाको भनाई छ । उता बालमैत्री स्थानीय शासन घोषणा गरिएको वडा १० नम्बर वडामा पनि धेरै सूचकहरु पुरा नभएको गुनासो सुनिन्छ । बालविवाह, बालश्रम लगाएतका कुराहरु अझै पनि नरोकिएको स्थानियहरुको भनाई छ ।

रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेलले ५१ वटै सूचक पुरा गरेर तीनपाटन गाउँपालिकाको ५ नम्बर वडालाई बालमैत्री स्थानिय शासन घोषणा गरिएको दावी गरे ।

लाखौं, करौडौं सरकारी रकम खर्च गरेर तामझाम सहित घोषणा गरिएको बालमैत्री स्थानीय शासनको दिगोपनाको बारेमा स्थानियहरुको ठुलो शंका देखिन्छ ।

धेरै सूचक नै पुरा नगरी मोटो रकम खर्च गरेर घोषणा गरिएको बालमैत्री स्थानीय शासन बालुवामा पानी खनाए झै हुने हो कि भन्ने धेरैको आशंका रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्