माओवादी केन्द्र सिन्धुलीले विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनायो

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १ फाल्गुन । नेकपा(माओवादी केन्द्र) सिन्धुलीले विभिन्न कार्यक्रम गरेर ३० औँ जनयुद्ध दिवस मनाएको छ ।

माओवादी केन्द्र सिन्धुलीको नौ वटै पालिका कमिटिहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस मनाएका हुन् ।

नेकपा माओवादी केन्द्र मरिण गाउँकमिटि र हरिहरपुरगढी गाउँकमिटिले दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

मरिण गाउँकमिटिले माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज बुद्धिमान माझी(बसन्त) को प्रमुख आतिथ्यता र हरिहरपु्रगढी गाउँपालिकाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) को प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको छ ।

माओवादी केन्द्र घ्याङलेख गाउँकमिटिले जिल्ला संयोजक पानीराज बम्जनको प्रमुख आतिथ्यतामा सहिदहरुको सालिकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाएको छ । घ्याङलेख गाउँपालिका वडा नम्बर १ सिम्लेमा रहेको सहिद पार्कमा आयोजित कार्यक्रममा जनयुद्धका १२ जना सहिदहरु प्रति श्रद्धान्जली अर्पण र माल्यार्पण गरिएको छ ।

सुनकोशी गाउँपालिकामा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा झन्डै ४० जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन् ।

माओवादी केन्द्र सुनकोशी गाउँकमिटिका अध्यक्ष नेत्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्