
सिन्धुली, ४ फागुन ।
मरिण गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामै उत्कृष्ट देखिएको छ । पालिकाहरूले गत आर्थिक वर्ष ०८०/८१ मा गरेका कामको विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा मरिण गाउँपालिकाले जिल्लाका नाै पालिकामध्ये सबैभन्दा धेरै अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ ।
पालिकाहरूले १० वटा मुख्य सूचकका आधारमा आर्थिक वर्ष ०८०/८१ मा आफूले गरेका कामको आफैँले मूल्यांकन गरेका हुन् । जसमा मरिण गाउँपालिकाले जिल्लामै सबैभन्दा धेरै ९६.५ अंक प्राप्त गरेको छ । आर्थिक वर्ष ०७९/८० मा भने सो पालिकाको अंक ९४.७५ प्रतिशत अंक प्राप्त गरेको थियो । नाै गाउँपालिका रहेको सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिकाले सबैभन्दा कम ६५ अंक पाएकाे छ । कमलामाई नगरपालिकाले मरिण पछि सबैभन्दा धेरै ९६ अंक पाएकाे छ ।
दुधाैली नगरपालिकाले ९२.२५, घ्याङलेख गाउँपालिकाले ८३.५, हरिहरपुरगढी गाउँपालिकाले ८१, फिक्कल गाउँपालिकाले ८९, सुनकाेशी गाउँपालिकाले ९०.७५ र तीनपाटन गाउँपालिकाले ८८.७५ अंक प्राप्त गरेकाे छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ ।
पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो । यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन् ।