मरिण गाउँपाकामा कृषि तथा पशुपंक्षीमा आधारित कार्यक्रम संचालनको लागि सम्झौता

सिन्धुली प्रेस
  • ख-
  • ख+

कृषि तथा पशुपंक्षीमा आधारित साना किसान तथा युवा उद्यमशिलता कार्यक्रम संचालनको लागि मरिण गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र हेन्डस नेपाल बिच सम्झौता भएको छ । कार्यक्रम संचालनको मरिण गाउँपालिकाको तर्फबाट अध्यक्ष विमर्श मुक्तान, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तिर्थराज रेग्मी र हेफर प्रोजेक्ट नेपालको तर्फबाट अध्यक्ष भीष्म प्रसाईंले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कृषि तथा पशु वस्तुहरूको उत्पादन गर्न, उत्पादन बढाउन र युवाहरूलाई उद्यमी बनाउने उदेश्यले संचालन हुन लागेको कार्यक्रममा मरिण गाउँपालिकाका कुल बजेट २ करोड ४० लाख रहेको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले तल्लो वर्गका नागरिक आयआर्जन बढाउदै आत्मनिर्भर बनाउने लक्ष्य लिएर कृषि तथा पशुपंक्षीमा लगानी गरेको बताउनुभयो । उहाँले हेफर प्रोजेक्ट नेपाल र हेन्डस नेपालसँग गरेर गाउँपालिकाले कृषि तथा पशुपंक्षीमा गरेको लगानीले नागरिकको जिवनस्तर उकास्न मद्दत मिलेको बताउनुभयो ।

अघिल्लो बर्षहरूमा कार्यक्रम कार्उान्वयन गर्दा केही समस्या देखिएको भए पनि आगामी दिनमा सुधार गर्दै प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । सम्झौता समारोहलाई सम्बोधन गर्दै मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले अघिल्लो बर्षहरूमा कृषि र पशुपालनमा गाउँपालिकाले गरेको लगानी अनुसार प्रतिफल नदेखिएको भन्दै नागरिकले गुनासो गर्ने गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा गाउँपालिकाले कृषि र पशुमा गरेको लगानी अनुसारको प्रतिफल देखिने गरि काम गर्नु पर्ने चुनौती रहेको बताउनुभयो । हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डाक्टर तिर्थराज रेग्मीले स्थानीय सरकारलाई कार्य सम्पादन र नागरिकलाई छिटो र प्रभावकारी सेवा प्रवाहमा सघाउन यो कार्यक्रम सम्झौता गरिएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्