सिन्धुली, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शनिवार सिन्धुली आउदै हुनु हुन्छ ।
जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौलीमा निर्माण भएको नगर अस्पतालको भवन उद्घाटनका लागि प्रधानमन्त्री दाहाल भोली सिन्धुली आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले जानकारी दिनुभयो ।
हेलिकप्टर बस्नको लागि हेलिप्याड निर्माण देखि मन्च व्यवस्थापन, हेलि प्याडदेखि कार्यक्रम स्थल नगर अस्पताल सम्म पुग्ने सडक मर्मत लगाएतका सबै तयारी पुरा मेयर अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमा विहान ११ बजे काठमाडौंबाट प्रस्तान गरेर साढे ११ बजे नगर अस्पतालको भवन उद्घाटन कार्यक्रम स्थलमा अवतरण हुने कार्य तालिका रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिनुभयो ।
करिव साढे एक घण्टामा नगर अस्पताल भवन उद्घाटनको कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड उदयपुरमा रहेको उदयपुर सिमेन्ट कारखानाको अवलोकन र अर्को एउटा कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको प्रजिअ खनालले बताउनुभयो । दुधौली नगरपालिकामा १५ शैयाको नगर अस्पताल निर्माण भएको छ ।
संघिय सरकारको १५ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण भएको नगर अस्पतालको भोली शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले उद्घाटन गर्दै हुनुहुन्छ ।
दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौलीमा निर्माण नगर अस्पताल करिब एक बिघा जग्गामा फैलिएको छ ।
न्यू ड्राईगन निर्माण सेवा काभ्रेले ठेक्का लिएर २०७७ मंसिर १५ गते शिलान्यास गरी अस्पताल निर्माण सुरु गरिएको थियो ।
अहिले १५ शैयया क्षमतामा निर्माण भएको अस्पतालाई आगामी दिनमा थप विकास गरी २५ शैय्या सम्म बनाउने योजना रहेको दुधौली नगरपालिकाले जनाएको छ ।