
बुद्ध नेपाली
सिन्धुली, १ जेठ ।
ठेकेदारको ढिलासुस्तीले सिन्धुलीको घ्याङलेख गाउँपालिकाको प्रशासनीक भवन निर्माणमा ढिलाई भएको छ । प्रशासनीक भवन निर्माणको ठेक्का पाएको पिपि इश्वरी जेभी, मन्थली रामेछापले म्याद सकिन करिब चार महिना मात्रै बाँकी रहँदा पनि भवन निर्माण कार्यमा तिव्रता दिएको पाइदैन ।
वि.स २०७९ भदौं ३१ गते सम्झौता गरेको ठेकेदार कम्पनीले दुई÷दुई पटक म्याद थप गरेर हाल सम्म आधा पनि भवन निर्माण कार्य सम्पन्न गरेको छैन ।
प्रशासनीक भवन निर्माणमा ठेकेदारले सुरुवात देखि नै ढिलासुस्ती गर्दैआएको घ्याङलेख गाउँपालिकाले जनाएको छ । सम्झौता भएको दुई बर्ष ९ महिना विति सक्दा हाल जम्मा ४५ प्रतिशत मात्रै भवन निर्माण कार्य सकिएको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।
संघिय सरकारको ३ करोड ३७ लाख ९५ हजार ६५७ रुपैयाँ र गाउँपालिकाको २ करोड २५ लाख ३० हजार ४३८ गरी कुल ५ करोड ६३ लाख २६ हजार ९५ रुपैयाँ लागतमा भवन निर्माणको ठेक्का पिपि इश्वरी जेभी, मन्थली रामेछापले पाएको छ ।
पछिल्लो पटक थप गरिएको म्याद अनुसार आगामी भदौं मसान्त सम्म ठेकेदार कम्पनीले भवन निर्माण कार्य सम्पन्न गरी सक्नु पर्ने छ । ठेकेदारको काममा देखिएको ढिलासुस्तीले अबको बाँकी चार महिनामा भवन निर्माण कार्य सकिन्छ भन्नेमा ढुक्क हुन नसकिने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो ।