
सिन्धुली, १ पुष । सिन्धुलीको घ्याङलेख गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ढिला सुस्ती भएको छ ।
ठेकेदार कम्पनी पि.पि. इश्वरी जे.भि मन्थली रामेछापको लापरबाहीले गाउँपालिकाको भवन निर्माण कार्य ढिलो भएको हो । दुई बर्षमा सम्पन्न गर्नुपर्ने भवन एक बर्ष भन्दा बढी समय विते पनि हाल सम्म करिब २० प्रतिशत मात्रै भवन निर्माणको काम सकिएको छ ।
तीन तलाको भवन निर्माणको ठेक्का लिएको पि.पि. इश्वरी जे.भि मन्थली रामेछापले गएको दशैं यता सम्पर्क विहीन भई भवन निर्माण कार्य अलपत्र छाडेको गाउँपालिकाले जनाएको छ ।
वि.स. २०८१ भदौं ३० गते सम्म भवन निर्माण गरी सक्ने गरी वि.स. २०७९ भदौं ३१ गते पि.पि. इश्वरी जे.भि मन्थली रामेछापले गाउँपालिकासँग सम्झौता गरेको छ । तर सम्झौता गरेको १५ महिना विति सक्दा पनि डिपिसि लेबल सम्मको मात्रै काम सकिएको घ्याङलेख गाउँपालिकाका इन्जिनियर मुकेश पुर्वेले जानकारी दिनुभयो ।
कुल ५ करोड ७७ लाख रुपैयाँमा भवन निर्माणको ठेक्का लिएको कम्पनीले अहिले सम्म करिव १ करोड रुपैयाँ भने रकम लिइ सकेको गाउँपालिकाको लेखा सहायक महेश्वर दाहालले बताउनुभयो ।
लामो समय देखि भवन निर्माण कार्य अपलत्र छाडेर सम्पर्क विहीन भएपछि घ्याङलेख गाउँपालिकाले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेर पत्र पठाएको छ ।

गएको मंसिर २६ गते गाउँपालिकाले पत्र काटेर के कारणले भवन निर्माणमा ढिलाई भएको हो सात दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले बताउनुभयो ।
सात दिनको म्याद राखेर स्पष्टीकरण सोधे पनि हाल सम्म ठेकेदार कम्पनीले कुनै जानकारी वा जवाफ नदिएको प्रमुख प्रशासकिय अधिकृत कार्कीले बताउनुभयो ।
समय अवधि भित्रै भवन निर्माण सकेर सहज र सरल रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने गाउँपालिकाको लक्ष्य रहे पनि ठेकेदार कम्पनीले लापरवाही गर्दा समस्या बढेको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।
अहिले सानो र साँघुरो भवनमा गाउँपालिकाको कार्यालय संचालन गर्दा सेवा प्रवाहमा कठिनाई भोग्नु परेको उपाध्यक्ष घलानको भनाई छ ।