गोलन्जोर गाउँपालिका ६ को घोक्सिला खोलामा पक्की पुल निर्माण हुन सुरु

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, ८ पुष । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ को घोक्सिला खोलामा पक्की पुल निर्माण हुन सुरु भएको छ । बारा–घोक्सिला– छेत्पा ग्रामिण सडक खण्ड अन्तर्गत घोक्सिला खोलामा पक्की पुल निर्माणको लागि आज शिलान्यास गरिएको छ ।

आज एक कार्यक्रमका बिच गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले संयुक्त रुपमा पक्की पुलको शिलान्यास गर्नुभएको हो ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौंडाको कुल ९ करोड ४५ लाख ३७ हजार रुपैयाँ लागतमा श्री श्रृजना निर्माण सेवा सिन्धुलीले पुल निर्माणको ठेक्का लिएको छ । ७० मिटर लामो पुल आगामी २०८२ को मंसिर १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी २०८१ जेठ १४ गते निर्माण कम्पनीले सम्झौता गरेको छ ।

यो पुल निर्माण सम्पन्न भएपछि गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ र ७ का स्थानियहरुलाई आवातजावत गर्न सहज हुनेछ । यो पुल बनेपछि मध्य पहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई समेत सहज हुने गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताउनुभयो ।

गोलन्जोर गाउँपालिकाको अक्करे भिरमा बर्षायाममा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध हुने गरेको छ । पुल शिलान्यास कार्यक्रममा गोलन्जोर गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष न्यौपानेले समय अवधि भित्रै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

श्रृजना निर्माण सेवा सिन्धुलीका प्रोपाईटर उद्धव दाहालले सम्झौता भित्रै पुल निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्