
सिन्धुली, ९ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सिन्धुलीमा पनि शुरु भएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भएको हो । कमलामाई नगरपालिकाले प्रभातफेरी गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।
कमलामाई नगरपालिकाबाट निकालिएको प्रभातफेरी स्टलबजार, १ नम्बर बजार, २ नम्बर बजार हुदै पुन नगरपालिका अगाडी लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले लैंगिक हिंसाको न्यूनिकरणको लागि १६ दिने अभियानभर मात्रै नभई बर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्नुपर्ने बताउनुभयो ।
कमलामाई नगरपालिकाका उपमेयर मन्जु देवकोटाले लैंगिक हिंसा कम गर्न लैंगिक निति बनाएको बताउनुभयो । लैंगिक निति कार्यान्वयन गर्न सबै सरोकारवाला पक्षको ऐक्यबद्धता हुनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लैंगिक हिंसा कम गर्न १६ दिने अभियानले मात्रै नपुग्ने भएकाले घर, गाउँमा सचेतना र शसक्तिकरणको माध्यमबाट प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधिहरु, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, महिला राजनितिककर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, विभिन्न गैरसरकारी संघसंस्थाहरुका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
नगरपालिकाले लैंगिक हिंसाविरुद्धको विभिन्न सचेतनामुलक कार्यक्रम गरेर अभियान मनाउने कमलामाई नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो।