सिन्धुली, ६ मंसिर । नेकपा एमाले मरिण गाउँपालिका कमिटिको सचिवालय सदस्य रहेका राम बहादुर कार्कीले पदबाट राजीनामा दिनुभएको छ ।
एमाले पार्टी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको काम प्रति असन्तुष्ट रहेकाले संगठित सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको कार्कीले बताउनुभएको छ ।
गएको मंसिर ४ गते एमाले मरिण गाउँपालिका कमिटिलाई राजीनामा पत्र बुझाएको कार्कीले जानकारी दिनुभयो । एमाले नेतृत्वको सरकारलेदेश र जनताको पक्षमा काम गर्न नसकेको, भ्रष्टचारीहरुलाई कारवाही नगरी संरक्षण गरेर घिन लाग्ने काम गरेको कारणले राजीनामा दिएको कार्कीले पत्रमा उल्लेख गर्नुभएको छ ।
कार्की एमालेमा प्रवेश गर्नुभन्दा पहिला नेपाली काग्रेसमा रहनु भएको थियो । सामाजिक काम गर्ने हुटहुटी रहेकाले जनताको पक्षमा केही काम गरौ भनेर काग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको कार्कीले बताउनुभयो ।
एमालेमा प्रवेश गर्ने बेला पार्टीका अध्यक्ष गोपाल बुढाथोकी लगाएतले धेरै आश्वासन दिएको तर निक्कै लामो समय सम्म पनि आश्वासन पुरा नभएको कार्कीको गुनासो छ ।
नेकपा एमाले मरिण गाउँकमिटिका अध्यक्ष गोपाल बुढाथोकीले बुधवार बसेको सचिवालय बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको बताउनुभयो ।
‘उहाँले पार्टीमा राजीनामा बुझाउनु भएको छैन् । फेसबुकमा राजीनामा पत्र हाल्नुभयो । पार्टीको ३,४ वटा बैठकमा अनुपस्थित पनि रहनुभएको छ । त्यस कारण पार्टी विरुद्धमा गतिविधि गरेको भन्दै सचिवालय बैठकले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।’ एमाले छाडेका कार्कीले अहिले कुनै पार्टीमा नगई स्वतन्त्र रहने जनाउनुभएको छ ।