अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीकाे नेतृत्व चयनमा भएन सहमती, चुनावमा राना र श्रेष्ठ बिच प्रतिस्पर्धा हुने

सिन्धुली प्रेस
  • ख-
  • ख+

सिन्धुली, १९ भदौ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) सिन्धुलीको नयाँ नेतृत्व चयनका लागि चुनाव हुने भएको छ ।

आज सिन्धुलीमाढीमा भएकाे संगठनकाे २१ औँ जिल्ला सम्मेलनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि चुनावबाट टुंगो लगाईने भएकाे हाे । चुनाव आगामी भदौ २६ गतेका लागि ताेकिएकाे संगठनका फ्याक्सन ईन्चार्ज हेम कार्कीले जानकारी दिनुभयाे ।

संगठनकाे पदाधिकारीमा आकाँक्षी धेरै भइ सहमति हुन नसकेपछि नयाँ कमिटी गठनकाे प्रक्रिया चुनावमा धकेलिएको हाे । संगठनको नयाँ अध्यक्ष बन्नका लागि अहिले सम्म दुई जना आकाँक्षी देखिएका छन् ।संगठनको नेतृत्व लिनका लागि मरिण गाउँपालिका २ का विद्यार्थी नेता सुमन राना र गोलन्जोर गाउँपालिका ६ का धन बहादुर श्रेष्ठ (सुवासं) ले उम्मेदवारी घोषणा गरेका छन् ।

२६ गते अध्यक्ष सहितको सबै  पदाधिकारीकाे चुनाव हुने फ्याक्सन ईन्चार्ज कार्कीको भनाइ छ । चुनाव अघि सहमति जुटाउनकाे लागि भन्दै बागमती प्रदेशसभा सदस्य मातृका भट्टराईकाे संयाेजकत्वमा फ्याक्सन ईन्चार्ज हेम कार्की, संगठनका पुर्व अध्यक्ष साेम प्रसाद बराल रहेको तीन सदस्यीय अध्यक्षमन्डल बनाईएकाे छ भने सुदिप केसीकाे संयाेजकत्वमा संगठनका ईन्चार्ज भानुभक्त श्रेष्ठ र अध्यक्ष विजय खड्का रहेकाे निर्वाचन समिति बनाईएकाे छ । चुनावकाे लागि भदौ २४ गते उम्मेदवारकाे मनाेनयन दर्ता गरिने बताईएकाे छ ।

सम्मेलन अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष विजय खड्काको अध्यक्षता तथा संगठनका केन्दीय बरिष्ठ उपाध्यक्ष तुकमान मोहराको प्रमुख आतिथ्यतामा भएको हो ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) माओवादी केन्द्र सिन्धुली जिल्ला ईन्चार्ज बुद्धिमान माझी (बसन्त) केन्द्रिय सदस्य दिर्घनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटिका सहसचिव प्रकास श्रेष्ठ, जिल्ला संयोजक पानीराज बम्जन, बागमती प्रदेश कमिटिका विभिन्न नेताहरु, स्थानीय तहका नेताहरू लगाएतको उपस्थिती रहेको छ ।

चुनावमा जिल्लाका नौ पालिका र विभिन्न कमिटिबाट आएका ४४६ जना प्रतिनिधिहरुले भोट हालेर नेतृत्व चयन गर्ने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalibuddha09@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्