छाप, सिन्धुली, ४ असोज । सिन्धुलीको मरिण गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीलाई विदाई गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिका सरुवा हुनु भएका दर्जीलाई आज एक कार्यक्रमका बिच गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनितिक दल, संघसंस्थाहरुले फुलमाया, अबिर सहित विभिन्न मायाको चिनो दिएर वदाई गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले मरिण गाउँपालिकामा सबैभन्दा बढी समय प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएको छ । वि.स. २०७८ सालको मंसिर ५ गते मरिण गाउँपालिकामा हाजिर हुनु भएका दर्जीले दुई बर्ष १० महिना प्रशासकीय अधिकृतको भुमिका रहेर कार्य सम्पादन गर्नु भएको थियो ।
विदाई कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले गाउँपालिकाको विकास र समृद्धिको लागि सधै सकारात्मक सोचले जनप्रतिनिधिलाई सहयोग गरेको भन्दै प्रशासकीय अधिकृत दर्जीको प्रसंसा गर्नुभयो ।
उहाँले प्रशासकीय अधिकृत र आफँुबिच जनताको पक्षमा काम गर्नुपर्छ भन्ने सोच, विचार र भावना मिलेकाले लामो समय सम्म सरुवा नभएको बताउनुभयो ।
अध्यक्ष र प्रशासकीय अधिकृत बिचको सुमधुर सम्बन्ध देखेर विपक्षीहरुले फुटाउन धेरै प्रयास गरेको स्मरण गर्दै अध्यक्ष मुक्तानले विकास र समृद्धिको लागि कर्मचारी र जनप्रतिनिधि बिच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत दर्जीले अध्यक्ष मुक्तान सहितको जनप्रतिनिधिहरुले विश्वास गरेर कार्य सम्पादन गर्न सहज वातावरण बनाई दिएकाले गाउँपालिकाको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन सफल भएको बताउनुभयो ।
उहाँले मरिणमा विताएको आफ्नो कार्यकाल जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्दा जनताको पक्षमा धेरै राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण बनेको दावी गर्नुभयो ।